


काठमाडौं,१४ साउन। यातायात व्यवस्था विभागले करिब साढे २७ लाख थान सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सकिएको जनाएको छ।
विभागद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार, असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स कार्ड छपाइ सकिएको हो ।

कुल २७ लाख ४७ हजार २५३ थान लाइसेन्स कार्ड सम्बन्धित यातायात कार्यालयमा हुलाकमार्फत वितरणका लागि पठाइसकिएको विभागले जनाएको छ। विभागले २०८२ कात्तिक १२ गते सुरक्षण मुद्रण केन्द्रसँग भएको सम्झौतापछि लाइसेन्स छपाइ कार्यले तीव्रता पाएको जनाएको छ।
यद्यपि, म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने हाल छापिएको छैन। विभागका अनुसार, यस्ता लाइसेन्स नवीकरण गरेपछि १० वर्षका लागि नयाँ लाइसेन्स जारी हुने भएकाले सम्बन्धित सेवाग्राहीलाई आफूलाई पायक पर्ने यातायात कार्यालयमा गई समयमै नवीकरण गर्न अनुरोध गरिएको छ।
विभागले नयाँ लाइसेन्स प्राप्ति तथा नवीकरण प्रक्रियालाई थप सहज बनाउन प्रणालीमा सुधार गरिएको पनि जनाएको छ।

