
बर्दिया, १२पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरेका छन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराए ।
‘आयोजनाको काम अलि सुस्ताएको छ । कामलाई गति प्रदान गर्नुस् । छिटो काम अघि बढ्छ कि भन्ने थियो तर, काममा बिलम्ब भयो’, उनले भने, ‘रिजल्ट छिटो दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।’ लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा गरिएको उनले बताए । आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउँदै उनले नदी कटान र विपद जोखिम न्यूनिकरण गरेर काम गर्न अनुरोध गरे ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘स्थानीयहरुसँग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस्, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ’, उनले भने, ‘बस्तिलाइ सुरक्षित गर्न जरुरी छ । अनिवार्य नदिको दुबै किनारमा तटबन्ध गर्नेगरी योजना अघि बढाउनुस् ।’ आयोजना कार्यालयसँग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बाँसगढी नगरपालिका-१, चेपाङ बर्दियाका स्थानीयसँग भेट गरेका थिए ।
अवको २ बर्ष भित्र भेरी नदीको पानी बबई नदिमा झारेर सिंचाई, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तर्गत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
१२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक बर्ष ०६८/६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।
सिँचाइ विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको छ ।

