


दैलेख,२२पुस । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्याँस भेटिएको छ । जिल्लाको भैरवी गाउँपालिका १ स्थित जलजलेमा पेट्रोलियम पदार्थको लागि अन्वेषण गर्ने क्रममा ग्याँस भण्डार रहेको संकेत पाइएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङपछि परिक्षणका लागि त्यहाँबाट पेट्रोलियम पदार्थको नमुना लिइएको छ । ग्याँस भण्डारको संकेत देखिएपछि खानी तथा भूगर्भ विभागले अनुसन्धान भइरहेको जनाएको छ।

पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीनको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको परियोजनामा सीएनपिसी इन्जिनियरिङले उत्खनन् थालेको थियो । पेट्रोलियम पदार्थ उत्खनन् र अन्वेषणमा गर्न २ अर्ब ४० करोड रुपैयाँसँगै प्राविधिक सहयोग गर्नेगरी चिनियाँ र नेपाल सरकारबिच सम्झौता भएको थियो ।
आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठका अनुसार ४ हजार १३ मिटर गहिराइसम्म उत्खनन् गर्दा ग्याँस भण्डार हुन सक्ने संकेत देखिएको छ।
उत्खनन् पछि निकालिएको नमुना परीक्षणका लागि चीनको प्रयोगशालामा पठाइएको छ । चीनमा पठाइएको नमुना परीक्षणको परिणाम आएपछि व्यावसायिक रुपमा उत्खनन् गर्न सकिने वा नसकिने स्पष्ट हुने बताइएको छ।

