
भैरहवा, २८पुस। लुम्बिनी प्रदेश सरकारले यातायातसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेको छ । यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा यातायातसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेको हो ।
यातायातसम्बन्धी सेवालाई सहज र सबैको पहुँचमा बनाउनका लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायातसम्बन्धी सेवालाई विस्तार गर्ने निर्णयमा पुगेको हो।
Advertisement

Advertisement
Advertisement

मन्त्रालयले गठन गरेको कार्यदललाई सेवाग्राहीहरूले यातायात सेवालाई विस्तार गरिनुपर्ने र सबैको पहुँचमा यातायातसम्बन्धी सेवा पुर्याईनु पर्ने सुझाव दिएका थिए। उक्त सुझावका आधारमा मन्त्रालयले यातायात क्षेत्रको सुधारको पहिलो योजना बनाउँदै यातायात सेवा कार्यालय विस्तारको कामलाई अघि बढाएको हो। मन्त्रालयले यसै योजना अन्तर्गत पहिलो चरणमा बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा विस्तार गरेको छ।
मन्त्रालयले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्नु पर्ने भन्दै मन्त्री परिषद्मा सिफारिस गरेको थियो। केही दिनअघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम कोहलपुरमा सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको छ।
यसअघि बाँकेको नेपालगन्जमा यातायात कार्यालय रहेको र कोहलपुर आसपासका नागरिकलाई सेवा लिन कठिनाइ बन्दै आएको सुझाव सेवाग्राहीले दिँदै आएका थिए।
‘यातायात क्षेत्रको सुधारका लागि मन्त्रालयले एउटा कार्यदल बनाएर अध्ययन गरेको थियो, कार्यदलको अध्ययनका क्रममा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गरिनुपर्ने देखियो,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘यो अध्ययन अनुसार हामीले यातायात कार्यालयको सेवा विस्तार गर्ने योजना बनाएर अघि बढेका हौं, र पहिलो चरणमा बाँकेको कोहलपुरमा सेवा विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ, अब चाँडै सेवा सुरु हुनेछ।’
मन्त्रालयले थप आर्थिक भार नपर्ने गरी यातायात कार्यालयको सेवा विस्तार गर्नेछ। शाखा कार्यालयका रूपमा सेवा विस्तार गर्न थालेको मन्त्रालयले शाखा कार्यालयमा कर्मचारीको व्यवस्थापन यातायात कार्यालयबाटै व्यवस्थापन हुने भएका छन्। शाखा कार्यालयका लागि नयाँ कर्मचारी नथप्ने निर्णय मन्त्रालयको छ। ‘यातायात शाखा कार्यालयका रूपमा सेवा विस्तार गर्ने हाम्रो योजना हो,’ उनले भने ।

