
काठमाडौं, २ माघ। नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आफ्नो मागहरुप्रति सरकारले सुनुवाई नगरेको भन्दै महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो १४ बुँदे माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो ।
Advertisement

Advertisement
Advertisement

आफ्ना मागका बारेमा माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री,सम्बन्धीत मन्त्री, प्रदेश मुख्यमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाइने महासंघले जनाएको छ । माघ १५ गतेसम्म आफ्ना माग सम्बोधन नभए माघ १८ गते माइतिघरमा धर्ना दिने,२० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने महासंघले जनाएको छ ।
त्यसपछि पनि आफ्ना माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारेर आन्दोलनलाई सशक्त पार्ने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । उनले सरकारले नै प्रयाप्त बजेट बिनियोजन नगरेका कारण आयोजनाहरुको म्याद थप गर्नुपर्ने अवस्था आएपनि त्यसको दोष निर्माण व्यवसायीलाई लगाउने गरेको धारणा राखे । त्यस्तै भुक्तानीका विषयमा रहेका समस्याका बारेमा पनि पटक पटक आश्वासन आएपनि समधान हुन नसकेको उनले बताए।
गत पुस २७ गते राजधानीमा निर्माण उद्योगका विद्यमान समस्याहरुका बारेमा देशभरका निर्माण व्यवसायीहरुको उपस्थितिमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले आन्दोलनका चरणबद्ध कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो ।
बिनाकारण सिमेन्ट साथै डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि, भुक्तानीको समस्या, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता, निर्माण व्यवसायीहरुलाई ऋणमा दिइएको सुविधा कटौती, विगतका सहमति कार्यान्वयन लगायतका विषयमा महासंघले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

