
भैरहवा,४ माघ। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलेले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन् । उनले सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्बन गर्न आग्रह गरे ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई शुक्रबार भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडी बढाउन उनले आग्रह गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

उनले सडक विस्तारमा कति रुख कटान गर्नुपर्छ ? ढुङ्गा गिटी कहाँबाट ल्याउने ? सबैकुराको पहिलै एकिन गरेर काम सुरु गर्न आयोजनाका कर्मचारीहरूलाई आग्रह गरे । सडक निर्माणका बेलामा यातायात आवागमनमा बाधा नपर्नेगरी काम गर्न पनि सुझाव दिए ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसँग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी दिए ।
उनले सवारी अवागमनमा असर नपर्ने गरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटरमध्ये २५-२५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराए ।
आयोजना कार्यालयका इञ्जिनियर जिगेशप्रसाद चौधरीले आयोजनाको कुल लम्बाई ५० किलोमिटर रहेको जानकारी दिए । जसमा शहरी क्षेत्रमा फूटपाथ तथा नालासहित ५० मिटर, ग्रामिण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाइ सडक निर्माण गरिनेछ ।
यस्तै पूर्वगृहमन्त्री खाँणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदीमा बाढीले भत्काएको नदीको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गरेका छन् ।
उनी सिँचाइमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबैतर्फ तटबन्धन गर्नुको साथै नदीको गहिराइ नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो । त्यसपछि वर्षेनी वर्षामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काइदिएको छ ।

