


भैरहवा, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस शुक्रवार पनि हुने भएको छ ।
बिहीवार बिहान देखि सुरु भएको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रवार साढे १० बजे उपस्थित हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।

बुधवार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्माजमानी छाडिएको थियो । थुनछेक बहस सुरु हुनु अघिनै सरकारी वकिल, जाहेरवालाका अधिवक्ताले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनु पर्नेमा परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै इजलासमा प्रतिवादी गरेका थिए ।
बहसमा वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्त रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए । त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
सरकारी वकिलहरुले सहकारीको रकम गोर्खा मिडियामा लैजानु गलत भएको र मिडिया नै गैरकानुनी रुपमा खुलेको विषयमा बहस गरेका थिए । साथै, उनीहरुले अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राखेर थप प्रक्रिया अगाडी बढाउनुपर्ने माग गरेको स्रोतले बतायो । शुक्रवार जाहेरवाला (पीडित) र प्रतिवादी (लामिछाने) को तर्फबाट बहस हुने बताइएको छ ।

