


भैरहवा, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि बुधवार उनी अदालतमा उपस्थित भएका थिए । बुधवार अदालतमा उनको बयान भएको थियो भने बिहीवारदेखि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको छ ।

थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । शुक्रवार जाहेरवाला र प्रतिवादीको तर्फका वकिलहरुले बहस गरेका थिए ।
दुवै तर्फका कानुन व्यवसायीहरुको बहस सकिएपछि ईजलासले पुर्पक्षाका लागि थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधरण तारेखमा राख्ने आदेश गर्नेछ ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।

