
राधेश्याम विश्वकर्मा
भैरहवा, १४माघ। नेपालको प्राचीन इतिहासदेखि नै महिला अधिकार र तेस्रोलिङ्गी वर्गका मानिसहरुलाई सम्मानका साथ समाजमा पहिचान स्थापित गरिरहेको चित्रण सहितको अजिमा र ६ लैंगिक प्रकारका लैंगिक पहिचान वृत्तचित्र भैरहवाको काशी सिने प्लेक्समा विशेष प्रदर्शन भएको छ ।
वृत्तचित्रमा ईतिहासमा मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो । यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रुपमा पुजिन्थ्यो । राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी वृत्तचित्रमा गर्न खोजिएको छ ।
Advertisement

Advertisement
Advertisement

वृत्तचित्रमा भक्तपुर र काठमाण्डौैंका अजिमाका मन्दिरहरुको विस्तृत वर्णन गरिएको छ । इन्द्र स्वर्गबाट फुल टिप्न आएको कथन, ईन्द्रलाई बाधेर राखेको र उनको आमाले उनलाई मुक्त गराउन आएको कथन सहित ईन्द्रजात्राको व्याख्या गरिएको छ । मल्ल राजाको पालामा सुरु भएको इन्द्रजात्रामा रथ तान्नेदेखि लिङ्गो ठड्याउने परम्परासँगै कुमारी जस्तै जिवित भैरव राख्ने चलनलाई वृत्तचित्रमा देखाइएको छ ।
मूख्य त धेरैले ध्यान नदिने कुरा मन्दिरका टुँडालहरुमा कुदिएका ६ थरीका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले वृत्तचित्र मार्फत बुझाउने प्रयास गरेका छन् । वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे राम्ररी खुलाइएको छ ।

वृत्तचित्रमा डाकिनी, कंकाल, तन्त्र पराम्परा, मछिन्द्रनाथको रुपरेखा सहितको सह अस्तित्वको भावलाई निर्माता पन्तले देखाउन खोजेका छन् । असनको गणेश मन्दिरमा छोरा जन्मिएको महिला स्वभावको, छोरी जन्मेको पुरुष स्वभावको मात्रै होइन दुवै यौनाङ्ग लिएर जन्मिएका व्यक्तिको स्वरुपलाई पनि पन्तले वृत्तचित्रमा प्रस्ट्याएका छन् ।
वृत्तचित्र काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरु, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरु बीचको जटिल सम्बन्धमा केन्द्रित छ । वृत्तचित्रले विविध लिङ्ग र कामुकताहरूको अन्वेषण गर्दछ र सांस्कृतिक सम्पदा र आधुनिक लैङ्गिक मुद्दाहरुमा गहिरो प्रतिबिम्ब प्रस्तुत गर्दछ । वृत्तभित्र हेरेपछि पत्रकार एलिना आचार्यले भनिन,‘त्यति बेला समानता थियो । शक्तिको दुरुपयोग भएन जुन अहिले छ ।’
उनले समाजमा रहेको पितृसत्तात्मक सोच बदल्न वृत्तचित्र सफल हुने बताइन् । उनले वृत्तचित्र हेरेपछि ‘नेपालमा रहेको मातृसत्ता–व्यवस्था बुझ्न हेर्नै पर्ने फिल्म’ भनेकी छन् । वृत्तचित्रको अन्तिम दृश्यमा नेपालको झण्डा मातृसत्ताको प्रतिक रहेको देखाउँदै जिवित देवी कुमारीलाई नेपाली सत्ताको वागडोर दिनुपर्ने सुझाईएको छ ।

