
बुटवल २१ माघ । महिला उद्यमशिलतालाई मुलुकको अर्थतन्त्रसँग जोड्नका लागि तीन तहकै सरकारले विशेष ध्यान दिनुपर्नेमा महिला उद्यमीहरुले जोड दिएका छन्।
महिला उद्यमी महासंघले लुम्बिनीमा आयोजना गरेको महिला उद्यमशीलता प्रबद्र्धनकालागि डिजीटलाईजेशन तथा उद्यम विकासका सिकाइ, अनुभव आदानप्रदान कार्यक्रममा उनीहरुले महिला उद्यमशिलताको विकासका लागि उत्पादित बस्तुको बजारीकरण र वित्तिय पहुँच स्थापितमा तीन तहैका सरकारले ध्यान दिए महिला उद्यमशिलता मुलुकको अर्थतन्त्रसंग जोडिएर विकासमा टेवा पुग्ने बताए ।
Advertisement

Advertisement
Advertisement

महिला उद्यमशिलताको विकासका लागि उत्पादित बस्तुको बजारीकरणमा समस्या छ भने वित्तिय पहुँच त्यती स्थापित हुन सकेको छैन। उत्पादित बस्तुको बजारीकरण, वित्तिय पहुँच स्थापित र प्रविधि प्रयोग सम्बन्धि विशेष योजनाहरुको खाँचो छ। महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरुमा वित्तिय पहुँचको स्थापति गर्न निकै आवश्यक रहेको र सरकारद्धारा दिइने सहुलियत कर्जा तथा छुट, अनुदानका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरीन।
उनले महिला उद्यमशिलताको विकास नभए सम्म देश समृद्ध हुन नसक्ने बताइन्। ‘अहिले देशको युवा जनशक्ति वैदेशिक रोजगारीका लागि दैनिक विदेश पलायन भइरहेको अवस्थामा महिला उद्यमीहरु नयाँ सोचका साथ अगाडी बढने प्रयास गरीरहनु भएको छ’,उनले भनिन्,‘यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारले महिला उद्यम मैत्री नीति बनाएर प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ।’
उनले महासंघले महिलाहरु उद्यमीहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणकालागि विशेष अभियान संचालन गरेको जनाइन्। ‘कुनामुनामा रहेका महिला उद्यमीहरुद्धारा उत्पादनलाई सहरसँग जोड्दै बजार प्रवद्र्धन गर्नमा लागेका छौँ’,महासंघको अध्यक्ष ज्ञवालीले भनिन्,‘सात वटै प्रदेशमा प्रविधिमा आधारित बजारीकरण सम्बन्धि तालिम,प्रचारप्रसारकालागि संजाल गठन, दक्ष जनशक्ति समेत उत्पादनका तालिम कार्यक्रम संचालन गरिएको छ।’
आफुलाई कमजोर नठानी नयाँ उद्यम र प्रविधि तर्फ अग्रसर हुन महिला उद्यमीहरुलाई आग्रह गर्दै उनले देशको जुनसुकै स्थानका महिला उद्यमीको साथ र सहयोगका लागि महासंघ तत्पर रहेको बताइन। महासंघले गत डिसेम्बरमा सहआयोजकको रुपमा अष्ट्रेलियाको मेलबर्नमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना गरी विश्व बजारमा समेत महिला उद्यमीलाई पुर्याउने प्रयास गरीएको उनले बताइन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले महिला उद्यमी र तीनका उत्पादनलाई लुम्बिनीको पर्यटन सँग जोड्दै बजार प्रबद्र्धन गर्न सकिने भन्दै महिला उद्यमशिलताको विकास र बिस्तारका लागि नगरपालिकाले विशेष ध्यान दिएको बताए । ‘उद्यमी बन्न चाहने महिलाहरुकालागि तालिम चलाइरहेका छौं । उद्योग,व्यवसाय र कृषिमा लागेका महिलाहरुका लागि बजेट विनियोजन गरिएको छ’, उनले भने,‘उत्पादित हस्तकला वस्तुको बजारीकरणका लागि योजना बनाएका छौँ । जसका लागि केन्द्र र प्रदेश सरकारले पनि समन्वय गर्नु पर्यो।’
कार्यक्रममा सहभागी महिला उद्यमी महासंघको जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुले जिल्ला जिल्लामा महिलाहरुले आफ्नो एकल प्रयासबाट सीमित साधन श्रोतको प्रयोग गरेर उद्यमको क्षेत्रमा निरन्तर अगाडी बढ्ने प्रयास गरीरहेको बताए। उद्यम÷व्यवसाय गर्दा स्थानीय र प्रदेश सरकारबाट सेवा सुविधा तथा छुट अनुदानका कार्यक्रमहरु प्रयाप्त नभएको महिला उद्यमीहरुले गुनासो गरे।

महिलाका नाममा उद्योग दर्ता गर्दा राजस्वमा केही छुटको व्यवस्था भएपनि व्यवसाय निरन्तरताका लागि सहुलियत,अनुदानका कार्यक्रमहरु प्रभावकारी नभएको लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका महिला उद्यमीको गुनासो थियो। रुपन्देहीका अध्यक्ष अनिता केसीले स्थानीय र प्रदेश सरकारले महिला उद्यमीकालागि छुट्याएको बजेट आवश्यकता, सिप, क्षमताका आधारमा नभइ पहुँचका आधारमा वितरण हुने गरेको बताइन्। दाङका अध्यक्ष यशोधा पाण्डेले प्रदेश र स्थानीय सरकार ग्रामिण भेगका महिला उद्यमीको पहुँचमा पुग्नै नसकेको बताइन्।
कपिलबस्तु अध्यक्ष कल्पना कुँवर, नवलपरासी अध्यक्ष दुर्गा कोइराला, रोल्पाका सचिव लालसरी घर्ती, उद्यमीहरु मन्जु घले, बन्दना गुरुङ लगायतले बोल्दै महिला उद्यमीहरुले संचालन गरेका उद्योगका उत्पादन तथा सेवाहरुलाई विशिष्टिकृत गर्दै बजारीकरण गर्न स्थानीय सरकारले भुमिका खेल्नु पर्ने बताए। रोल्पाको गुरुङ होमस्टे समितिका अध्यक्ष हरिजङ्ग गुरुङले महासंघले तालिम दिएर कोभिडले थलिएको रोल्पाको होम स्टेलाइ चलायमान गराउन अभियान थालेको भन्दै महिला उद्यमी महासंघलाई धन्यवाद व्यक्त गरे।
महासंघका कार्यकारी निर्देशक अभिलाषा पौड्यालका अनुसार लुम्बिनी प्रदेशमा महिलाहरुले स्थानीय साधनश्रोतको प्रयोग गरेर हस्तकलाका समान, अर्गानिक तरकारी, फलफुल, मह, अचार, मसला, अल्लो, सिस्नोका कपडा उत्पादन सम्बन्धि साना तथा मझौला उद्योगहरु संचालन गरिरहेका छन्। त्यस्तै ढाका कपडा, बेकरिज उद्योग, सजावटका समाग्री, सिलाइ–बुनाइ, ब्युटिपार्लर, होमस्टे, साना तथा मझौला होटल, ई–ड्राइभ, टुर एण्ड ट्राभल्स लगायतका उद्यम व्यवसाय संचालन गरीरहेका छन्।
महिला उद्यमीहरुले संचालन गरेका तीनै उद्योगका उत्पादन तथा सेवाहरुलाइ विशिष्टिकृत गर्दै प्रविधिसंग जोडेर बजारीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले लुम्बिनी प्रदेशमा पनि डिजीटलाईजेशन तथा उद्यम विकासका सिकाइ, अनुभव आदानप्रदान तथा होमस्टे तालिमको आयोजना गरीएको पौड्यालले बताइन।
होम स्टे तालिम समापन
महासंघले लुम्बिनी प्रदेशको रोल्पा नगरपालिका–४ स्थित गुरुङ गाँउमा माघ ८ देखि १५ गते सम्म महिलाहरुका लागि होम स्टे व्यवसाय तथा डिजिटल सुरक्षा सम्बन्धि तालिमको आयोजना गरेको थियो । तालिममा रोल्पाका २० जना महिलाको सहभागीता रहेको महासंघका परियोजना संयोजक भुपेन्द्र वत्स लम्सालले जानकारी दिए।
उक्त तालिमको पनि एक कार्यक्रमको बीच सम्पन्न भएको छ। तालिमको समापन गर्दे महासंघका अध्यक्ष शोभा ज्ञवालीले तालिमका सिकेका सिपलाई सदुपयोग गर्दै होमस्टे मार्फत आर्थिक उपार्जनमा लाग्न सहभागीलाई आग्रह गरीन् । सोही अवसरमा तालिममा सहभागीहरुलाई होमस्टे संचालनका लागि उपयोगी सामाग्रीहरु समेत प्रदान गरीएको थियो।

