
दाङ, २३ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उत्पादन बढाउन सहज बजारीकरण र मूल्य सुनिश्चितता जरुरी रहेको बताएका छन् । यी दुवै काम गर्न स्थानीय स्तरमा खरिद तथा विक्री कक्ष स्थापना गरेर सञ्चालन गर्न अनिवार्य भएको जनाए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौंले स्थानीय स्तरमा विक्री तथा खरिद कक्ष सञ्चालन सम्वन्धि आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले किसानले उत्पादन गरेका कृषि र पशुबस्तुको सहज बजारीकरण, उचित मूल्यका लागि स्थानीय स्तरमा खरिद तथा विक्री कक्ष स्थापना गरेर सञ्चालनमा ल्याउनुपर्ने जनाए ।
Advertisement

Advertisement
Advertisement

‘बजार र मूल्य सुनिश्चित नहुँदा किसानले उत्पादन बढाउन हिचकिचाउने अवस्था छ । ढुक्क भएर उत्पादन गर्ने वातावरणको सिर्जना गर्न जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने, ‘उत्पादन गरेको खाद्यन्न, तरकारी, फलफूल, पशु बस्तुको विक्री हुन्छ । मूल्य पनि राम्रो पाइन्छ भन्ने ढुक्कको वातावरण बनाउन सकियो भने किसानले उत्पादन बढाउनुहुन्छ, हामीले त्यो कुरा बुझेका छौं ।’
खाद्य तथा व्यापार कम्पनीले अत्यावश्यक खाद्य वस्तुको मूल्य स्थिरीकरण गर्न, दुर्गम क्षेत्रमा खाद्यन्न आपूर्ति गर्न, प्राकृतिक प्रकोप तथा आपतकालीन अवस्थामा खाद्यान्न व्यवस्थापन गर्न, सघन सहरी क्षेत्रमा आपूर्ति व्यवस्थापन गर्न, खाद्य सम्प्रभूता र भोक विरुद्ध अधिकारको सुनिश्चितता गर्न, उत्पादनको विविधिकरण गर्न, निर्यात अभिवृद्धि गर्न स्थानीय स्तरमा समेत खरिद तथा विक्री कक्षको स्थापना गर्न थालेको हो ।
संघीय, प्रादेशिक एवम् स्थानीय तहमा खाद्यान्न संचय गर्न कोदाम घर निर्माण गरिने, कृषक समूह वा सहकारी मार्फत उत्पादित कृषि तथा पशुपंक्षिजन्य उत्पादनको खरिद सुनिश्चित गरी एकीकृत प्रशोधन उद्योगको स्थापना तथा सञ्चालन गर्ने लक्ष्य राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले किसानले उत्पादन गरेका खाद्यान्न, तरकारी तथा फलफूल र पशुपंक्षिको सहज बजारीकरणमा ध्यान दिन आग्रह गरेका थिए ।

