
भैरहवा, २४ माघ। रुपन्देहीको सैनामैना नगरपालिकामा फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजनाले मूर्तरुप पाउने भएको छ । सैनामैनामा फोहर व्यवस्थापन केन्द्र निर्माण भएपछि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको फोहोर स्थायी रुपमा व्यवस्थापनका लागि निकास निस्किने छ ।
सैनामैना नगरपालिकालाई सरकारले फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति दिने निर्णय गरेपछि ति पालिकाहरुको फोहोर स्थायी रुपमा व्यवस्थापनका लागि बाटो खुलेको हो । सरकारको उक्त निर्णयसँगै सैनामैनामा फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने भएको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले फोहोर व्यवस्थापन केन्द्रका लागि सैनामैना–१०, एकला पहाड क्षेत्रमा खोरमोर नदी उकास क्षेत्रको ३ दश्मलव ५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
Advertisement

Advertisement
Advertisement

सरकारको निर्णय गरेपछि वनको जग्गाको भोगाधिकार नपाएर वर्षौदेखि अलपत्र रहेको फोहोर व्यवस्थापनका काम सुरु गर्नका लागि सहज बातावरण बनेको छ । सैनामैनाका निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्कीको पालामै अघि बढेको यो योजना भोगाधिकार नपाएकै कारण रोकिएको थियो ।
प्रशोधन केन्द्रको निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले ६ वर्षअघि सम्झौता गरी काम अघि बढाएका थिए । सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख कार्कीले रुपन्देहीको मात्र नभइ छिमेकी अन्य जिल्लाको समेत फोहोर व्यवस्थापन गर्न सकिने बताएका छन् ।
फोहोर प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने, प्लास्टिक दाना उत्पादन गर्ने र कम्पोस्ट मल बनाउने गरी योजना अघि बढाइएको थियो । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सरकारले जग्गा प्रयोग गर्न दिने निर्णय गरेकाले अब फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने जनाए ।
फोहोर प्रशोधन केन्द्र निर्माणका लागि निजी क्षेत्रपनि इच्छुक रहेको जनाइएको छ । फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ । साथै, आयोजना स्थलबाट १६४ वटा रुख समेत हटाइसकिएको छ । प्रशोधन केन्द्र निर्माणका लागि करिव २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा एशियाली विकास बैंकले समेत ऋण लगानी गर्न चासो देखाएको थियो ।

