


भैरहवा, २६ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रवादीबाट नै लोकतन्त्रमाथी खतरा भएको बताएका छन् । शनिवार भैरहवामा पत्रकारहरुसँग भेटघाट गर्दै ३५ वर्षदेखि देशमा शासन गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले अहिले मुलुकलाई अधिनायकवादतर्फ धक्लेन खोजेको भन्दै यी दलहरुबाटै लोकतन्त्रमाथी खतरा भएको बताए ।
‘लोकतन्त्र विरोधीबाट लोकतन्त्रमाथी खतरा हुने हो भने लोकतन्त्रवादी लडिहाल्छन् । तर, यहाँ त जो लोकतन्त्रका लागि लड्यो आज उसैबाट खतरा भयो’,उनले भने,‘अधिनायकवाद लाद्न र लोकतन्त्रको हत्या गर्नैका लागि कांग्रेस र एमाले मिलेका छन् ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले एकल राष्ट्रिय राज्य चिन्तनवादबाट मुलुक चलिरहेको भन्दै ठूला दलहरुले जनतासँग विश्वासघात गरेर दुवै हातले लुट मच्चाएर देशको अर्थ व्यवस्था खोक्लो बनाएको दावी गरे ।
‘३५ वर्षदेखि देशमा कसले शासन गर्यो ? कांग्रेस, एमाले र माओवादी । जनताले आफ्नो मत यीनैलाई दिए । आज देश कहाँ पुग्यो ? अर्थ व्यवस्था कहाँ पुग्यो ? युवाहरु रोजगारीका लागि विदेशिनु परेको छ’,उनले भने, ‘प्रकृति सम्पदाले भरिएको देश आज विश्वमा गरिब मुलुकको सूचांकक पुगिसकेको छ । त्यसैले अब नागरिकले विकल्प खोजेका छन् । जसका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल अघि बढेको छ ।’
उनले देशमा प्रतिपक्ष नै नदेखिएकोले राष्ट्रिय मुक्ति पार्टी नेपालको नागरिकको अधिकारका लागि सत्ताको प्रतिपक्षमा उभिएर संघर्ष गर्ने बताए ।
लोकतान्त्रिक मूल्यमान्यताका लागि जनताले धेरै संघर्ष गरे पनि आज देशमा लोकतन्त्रमाथि संकट ल्याउने प्रयास गरिएको बताए । ‘यहाँ पक्ष र विपक्ष देखिएन, काँग्रेस र एमाले (पहिलो र दोस्रो पार्टी) लोकतान्त्रिक मूल्यमान्यताको हत्या गर्न पुगे’,उनले भने, दुई दल मिलेर जे गरे पनि हुन्छ भन्ने मान्यताका साथ देशलाई अगाडि बढाउन खोजिरहेका छन् ।’
अध्यक्ष महतोले पाथिभारा (मुकुम्लुङ) मा केबलकार निर्माण गरेर पर्यटनको विकास नभई त्यहाँ सभ्यता र सांकृतिकमाथी डकैती गर्न खोजिएको बताए । ‘मुकुम्लुङ आस्थाको केन्द्र हो । होली वाइन सभ्यता ल्याए जस्तो होइन । विकासको नाममा त्यहाँको सभ्यता र सांकृतिकका मास्ने नभई संरक्षण हुनुपर्छ’,उनले भने,‘सभ्यता र सांकृतिकका लागि पदयात्रा जरुरी छ । त्यहाँ केबलकार निर्माण हुँदैन । केबलकार निर्माणको खारेजीका लागि मात्र वार्ता हुने हो ।’
अमेरिकि साम्रराज्यवाद र भारतीय विस्तारवाद नै नेपालको राष्ट्रवाद भन्ने भाष्य स्थापित गरिएकोले नै उदाहरणहरु दिँदै प्राकृतिक सम्पदाले भरिएको मुलुकको सम्बृद्धिको बाटोमा लम्किन नसेकेको उनको भनाई छ ।

