
काठमाडौ, २९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मेयर बस्नतेले आठ करोड ६९ लाख ८७ हजार एक सय पाँच रुपैयाँको भ्रष्टाचार गरेको भन्दै अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्वको बस्नेतको परिवारका सदस्यका नाममा विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारी संस्थामा रहेका खातामा सुरु मौज्दात बापतको रकम, पारिश्रमिक, दैनिक भ्रमण भत्ता लगायत निजका एकाघर परिवारका सदस्यको कुल आय १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ रहेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आयोगका अनुसार बस्नेतको सोही अवधिमा जाँच गर्दा व्ययतर्फ जग्गा खरिद, घर निर्माण खर्च तथा मर्मत, अपार्टमेन्ट खरिदका लागि बुकिङ्ग प्रयोजनमा भएको खर्च तथा लगानी लगायतको रकम २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ रहेको देखिएको छ।
उक्त अवधिमा कुल आयभन्दा खर्च बढी देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। कुल खर्च तथा लगानी रकम आठ करोड ६९ लाख ८७ हजार एक सय पाँच रुपैयाँ बिगो कायम गरी बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद र बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।
बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट निजको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ विशेष अदालतमा आरोपपत्र दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

