
भैरहवा, ३० माघ। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा आयोजना भएको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको उपाधि वेष्टर्न क्रिकेट क्लबले उचालेको छ ।
लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपरलिगको उपाधि उचालेको हो । उपाधिसँगै वेष्टर्नले नगद १ लाख १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र हात पार्याे ।
Advertisement

Advertisement
Advertisement

टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरको खेलमा ४० ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय २५ रनको बलियो योगफल खडा गर्याे । उसका लागि नरेन साउदले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै, देव खनालले ४६, सन्देश थापाले २२, रन्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रनको योगदान दिए । बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ५, भुवन कार्कीले २ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरी ३८ ओभरमा १ सय ८६ रन बनाउँदा अलआउट भयो । उसका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजयकुमार चौहानले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा वेष्टर्नका नरेन साउदले ४, देव खनाल र सुझाव थापाले २–२ तथा सन्देश थापाले १ विकेट लिए । फाइनलमा अलराउण्ड प्रदर्शन गरेका नरेन साउद म्यान अफ द फाइनल भइ एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा वेष्टर्नका देव खनाल म्यान अफ द सिरिज भइ १५ हजार रुपैयाँ पाए । यस्तै, वेष्टर्नका अभिशेष गौतम बेष्ट बलर, न्यु होराइजनका निश्चल ज्ञवाली बेष्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदयीमान खेलाडी घोषित भए । उनीहरु तीनैजनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, म्याच रेफ्री समीर खान, एभरेष्ट कत्था मिलका संचालक बसन्तबहादुर रोक्का क्षेत्री, जयसवाल सेवा समितिका अध्यक्ष अमित गुप्ता, संघका सचिव संजय गुरुङ, कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँण लगायतले पुरस्कार वितरण गरे ।

