
अमेरिकामा रिपब्लिकन सांसद माइक कोलिन्सले डाइभर्सिटी भिसा (डिभी) लोटरी अन्त्य गर्नेसम्बन्धी नयाँ विधेयक पेश गरेका छन् । पेश गरिएको विधेयकले डिभी कार्यक्रम बन्द गर्न र लोटरी विजेताहरूका परिवारका सदस्यहरूलाई प्राथमिकता दिने ग्रीन कार्ड स्पोन्सर गर्ने क्षमतालाई हटाउने प्रस्ताव राखेको छ ।
सांसद कोलिन्सले सामाजिक सञ्जालमार्फत यो विधेयक पेश गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले डिभी कार्यक्रमलाई अनुहारविहीन कम्प्युटर प्रणाली द्वारा संचालित बताउँदै यसले अमेरिकामा चेन माइग्रेसन (श्रृङ्खलाबद्ध आप्रवासन) को ढोका खोल्ने दाबी गरेका छन् । उनले अध्यागमन प्रणालीलाई पुनःनिर्देशन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
Advertisement

Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा रेज एक्ट नामक विधेयकलाई समर्थन गरेका थिए । जुन रिपब्लिकन सिनेटर टम कटन र डेभिड पर्ड्युद्वारा प्रस्तावित थियो । उक्त विधेयकले परिवारमा आधारित अध्यागमनलाई कटौती गर्ने, रोजगारीमा आधारित अध्यागमन प्रणाली परिवर्तन गर्ने र डिभी लोटरी हटाउने प्रावधान राखेको थियो । तर, विधेयक पारित हुन सकेन ।
डिभी लोटरी कार्यक्रम अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनअन्तर्गत स्थापित गरिएको हो । जसको परिमार्जन वा समाप्ति संसदबाट मात्र सम्भव छ । सन् १९९५ देखि हालसम्म ५७ हजारभन्दा बढी नेपालीहरूले डिभी चिठ्ठामार्फत अमेरिकी ग्रीन कार्ड प्राप्त गरिसकेका छन् । जुन अमेरिकामा रहेका नेपाली ग्रीन कार्डधारकहरूको २५ प्रतिशतभन्दा बढी हो। नेपालीहरू डिभी कार्यक्रममार्फत ग्रीन कार्ड पाउने शीर्ष राष्ट्रहरूमध्ये एक भएका छन् ।
हालैका वर्षहरूमा १० लाखभन्दा बढी नेपालीहरूले वार्षिक रूपमा डिभी कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । पासपोर्ट आवश्यक पर्ने वर्षहरूमा सहभागिता अस्थायी रूपमा घटेपनि त्यसपछि पुनः वृद्धि भएको छ ।

