
रौतहट, २ फागुन । नेपालबाट भारतमा गाँजा तस्करी गरेको आरोप पक्राउ परेका एक नेपाली युवक भारतीय प्रहरीको हिरासतबाट फरार भएका छन् ।
बिहीवार भारतको सीमा सीमा सुरक्षा बल (एसएसबी) ले रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साहलाई ४३ किलो गाँजासहित पक्राउ गरेको थियो । साथै, उनले तस्करीमा प्रयोग गरेको बिआर १ पिबी ०१११ नम्बरको कार सहित, गाँजा र पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि बिहारको मोतीहारी जिल्ला झरौखर थानालाई बुझाएको थियो ।
Advertisement

Advertisement
Advertisement

भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणमा रहेका उनी शुक्रवार बिहान फरार भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतको मोतिहारी जिल्ला नेपालको रौतहट र बारा जिल्लासँग सीमा जोडिएको छ ।
भारतीय प्रहरीका अनुसार प्रहरी कार्यालय छेउको चौरमा हतकडी विना शौच गराउनका लागि लैजाँदा प्रहरीलाई झुक्काएर साह नेपाली सीमातर्फ फरार भएका हुन् । प्रहरी कार्यालयबाट नेपाली सीमा करिब ५ सय मिटरको दुरीमा छ ।
मोतीहारीका एसपी सुवर्ण प्रभातको भनाईलाई उद्धत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन्-आरोपी फरार भएपछि ड्युटीमा तैनाथ प्रहरी राम औतारलाई निलम्बनका साथै फरार साहमाथी झरौखर थानामा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालिएको छ ।

