
भैरहवा, ५ फागुन । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्साल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ८ बैंक कोलोनी (भैरहवा) को निवासी भएको खुलेको छ ।
ओडिसाको केआईआईटीमा प्रकृति बीआइटी तेस्रो वर्षमा अध्यनरत थिइन् । भैरहवामा स्थायी घर भए पनि प्रकृतिका वुवा सुनिल लम्साल र आमा सरिता लम्साल काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए। घटना पश्चात वुवा ओडिसातर्फ लागेका छन् ।
Advertisement

Advertisement
Advertisement

आफन्तका अनुसार दसै बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज फर्केकी उनी घर आएकी थिइनन् ।
मृतकका आफन्त सिद्धान्त सिग्देलले एक संचारमाध्यमसँगको कुराकानीमा कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानिसक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाई नहुँदा बहिनी गुमाउन परेको बताए ।
आइतबार अपराह्न ३-४ बजेको आसपासमा उनको शव कलेजको छात्रावासमा भेटिएको थियो । त्यहाँ अध्ययरत नेपाली विद्यार्थीहरुका अनुसार, प्रकृतिको कोठामा उनका अरु दुई जना साथीहरु पनि सँगै बस्दै आएका थिए । तर, घटना भएका बेला दुवै जना बाहिर थिए ।
प्रकृतिको मृत्यु भएको जानकारी पाएलगत्तै आरोपी श्रीवास्तव आइतबार राति नै भागेर घरतिर जान खोजेका थिए। जसका लागि उनले राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल जानलाई टिकट समेत काटेको फेला परेको छ ।तर, विद्यार्थीको प्रदर्शन र दबाबबीच उनको टिकट रद्द भयो भने प्रहरीले उनलाई त्यहीँबाट पक्राउ गरेको छ ।
भुवनेश्वर प्रहरीका डेपुटी कमिस्नर (डीसीपी) पिनाक मिश्राले आरोपी श्रीवास्तवलाई पक्राउ गरेर उनीमाथि अबेटमेन्ट अफ सुसाइड (आत्महत्या उक्साहट) सम्बन्धी कसुरमा अनुसन्धान थालिएको बताए । भारतीय प्रहरीका अनुसार मृतक लम्सालको अभिभावक सोमबार दिउँसो आइपुगेकोले मंगलबार शवको पोष्टमार्टम गरिनेछ ।
कलेजले नेपाली विद्यार्थीमाथि दमन गरेपछि विरोध थप चर्किएको छ । घटनाको सूचना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए । परराष्ट्र मन्त्रालय हुँदै भारतस्थित नेपाली दुतावासले यसमा जानकारी लिएको थियो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा सूचना राख्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना अधिकारीहरुलाई ओडिसामा पठाइएको जानकारी दिएका छन् । ‘दिल्लीस्थित हाम्रो दूतावासले नेपाली विद्यार्थीसँग समन्वय गर्न दुई जना अधिकारी त्यहाँ पठाएको छ’, उनले भनेका छन्, ‘यसमाथि नेपाली विद्यार्थीहरुलाई आफ्नो इच्छा अनुसार होस्टलमै बस्न वा घर फर्किन मिल्ने व्यवस्था मिलाइएको छ ।’
विद्यार्थीको निरन्तर आन्दोलन र नेपाली पक्षको दबाबपछि कलेज प्रशासनले पनि अर्को सूचना जारी गरेर नेपाली विद्यार्थीलाई होस्टलमा फर्किन भनेको छ ।
‘हिजो कलेजमा एकदमै अप्रिय घटना भयो, यो मामलामा पुलिसले अनुसन्धान गरिरहेको छ, आरोपी पक्राउ परेका छन्’, रजिष्टारले सोमबार अपराह्न जारी गरेको सूचनामा भनिएको छ, ‘हामी सबै हाम्रा नेपाली विद्यार्थीलाई कलेजमा आउन र कक्षाहरु लिन अपिल गर्छौं ।’
यस अघि कलेज प्रशासनले प्रर्दशन गरेको भन्दै नेपाली विधार्थीहरुलाई कलेज छाड्न दवाव दिएको थियो। जसकारण विधार्थीहरु कलेजबाट निस्किएर बस र रेलवे स्टसेनमा अलपत्र परेका छन् ।
काठमाडौंस्थित भारतीय दूतावासले पनि सूचना जारी गरेर कलेजले होस्टलमा फर्किन सूचना जारी गरिसकेको भन्दै भारत सरकारले नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूति दिलाउन आवश्यक कदमहरु चाल्ने भनेको छ ।

