


काठमाडौं,८ साउन । परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार संवेदनशील रहेको जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, हाल उक्त क्षेत्रमा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको छ भने कुनै नेपाली प्रभावित भएको जानकारी प्राप्त भएको छैन।

वार्ता र कूटनीति नै समस्या समाधानको स्थायी माध्यम भएको र ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको निर्बाध उपयोग तथा दिगो शान्तिका पहलहरुमा नेपालको समर्थन रहेको शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उल्लेख गरे ।
दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकबाट अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
जसमध्ये कम्बोडियाबाट ७३३ जना, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्यान्डबाट ६ जना रहेका छन्। साथै, कम्बोडियाका जेलमा रहेका ४९ जना नेपालीका लागि नेपाली दूतावास (बैंकक) ले कानुनी सहायताको समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।
उद्धारका लागि मन्त्रालय वा निकायहरुमा निवेदन दिनुअघि, गैरकानुनी रूपमा पठाउने संलग्न व्यक्तिहरुलाई कारबाही गर्नका लागि परिवार तथा आफन्तले यथार्थ विवरणसहित नेपाल प्रहरी लगायत सम्बन्धित निकायमा निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

