


काठमाडौं,८ साउन। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ वेबसाइट तथा एप बन्द गरेको जनाएको छ।
सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार यस्ता वेबसाइट तथा एपमाथि कारबाही अघि बढाएको हो। दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार, फिफा विश्वकपको अवधिमा बेटिङ एपको प्रयोग बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष टास्क फोर्स गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको सहकार्यमा वेबसाइट ब्लक गरेको जनाएको छ।

प्राधिकरणका अनुसार, नयाँ नाममा यस्ता वेबसाइट फेरि खुल्ने चुनौती रहेकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी निरन्तर निगरानी र बन्द गर्ने काम भइरहेको छ। साथै, अवैधानिक वेबसाइटबारे जानकारी भए प्राधिकरणको अनलाइन प्रणालीमार्फत सूचना दिन पनि आग्रह गरिएको छ।

