


धनुषा,८ साउन । प्रहरीले गोली चलाएर लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साह रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास टोलीले धनुषाको मिथिला नगरपालिका–६ मा लागुऔषधको कारोबार भइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं डीएसपी जिवन निरौलाले जनाए ।
उनका अनुसार, पक्राउ परेका आरोपीहरुको साथबाट ९५ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन, २ थान मोबाइल, १ थान भारतीय आधार कार्ड र १ थान भारतीय सवारी चालक अनुमतिपत्र बरामद भएको छ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषामा बुझाइएको ब्यूरोले जनाएको छ।

