


भैरहवा, ८ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा विशेष छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
केआईआईटीले बिहीवार सामाजिक संजाल फेसबुक र एक्समार्फत मार्फत प्रकृतिको सम्झनालाई सम्मान गर्न नेपाली विद्यार्थीहरुका लागि उनको नाममा विशेष छात्रवृत्ति प्रदान गर्ने जनाएको हो । युनभर्सिटीले भनेको छ- ‘यस पहलले प्रकृति जस्ता थुप्रै प्रतिभाशाली विद्यार्थीहरुलाई कुनै बाधाविना आफ्नो शिक्षा अघि बढाउन सुनिश्चित गर्नेछ।’

युनिभर्सिटीका सञ्चालक प्रा. अच्यूता सामन्ताले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलरहरुसँग भेट गरेर प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको जनाएको छ । साथै, नेपालका परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग पनि टेलिफोन संवादमा यस विषयमा भएका कारवाहीबारे जानकारी गराइएको युनिभर्सिटीले बताएको छ ।
गत आइतबार भैरहवाकी प्रकृति लम्साल छात्रावासमा शंकास्पद रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । बुधवार ओडिसाबाट प्रकृतिको शव उनको घर भैरहवा ल्याएर अन्त्येष्टि गरिएको छ ।भारतीय प्रहरीले विश्वविद्यालयकै छात्र अड्विक श्रीवास्तवलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

