
भैरहवा, १८ फागुन। रुपन्देही प्रहरीले सियारी गाउँपालिका-२ भगदरीमा भएको महिलाको हत्याको गुत्थी सुल्झाएको छ। गत फागुन ८ गते भगदरी स्थित खेतमा परालले छोपिएको अवस्थामा दाङको लमही नगरपालिका-७ उच्च लिम्बुको संगिता चौधरी (४०) को शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीको कमाण्डमा गठित अनुसन्धान टोलीले नौ दिन अनुसन्धान गरेर हत्याको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१२ का अजय उर्फ अमिरीका थारु(४२)लाई पक्राउ गरेको छ। जसको विवरण प्रहरीले आईतबार सार्वजनिक गरेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मादक पदार्थ सेवन गरी झैझगडा हुँदा अमिरीकाले ढुंगाले हानेर संगिताको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एंव सूचना अधिकारी सुरज कार्कीले जनाए। मृतक र आरोपी दुवै जना मजदुरीको काम गर्दै आएका थिए।
प्रहरीले ‘क्राईम सिन’ बाट हत्यामा प्रयोग भएको ढुंगा २ थान, सेलफोन एक थान, टोपी एक थान, चप्पल एक जोर दशीको रुपमा बरामद भएको जनाएको छ।
डीएसपी कार्कीका अनुसार पक्राउ परेको अमिरीकाको साथबाट वारदातको समयमा लगाएको कालो जिन्स पाईन्ट र संगिताले प्रयोग गरेको साईकल बरामद भएको छ।
फरार रहेका थारुलाई पक्राउ गरी अदालतबाट आठ दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

