

सलमान खान
भैरहवा, २२ फागुन । नाम–अजय उर्फ अमिरीका थारु । वर्ष–४२ । पेश–मजदुरी । मुद्दा–कर्तव्य ज्यान । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अपराध अनुसन्धान शाखामा एक व्यक्तिको ‘अपराधिक’ परिचय हो यो । ०८० मंसिर २५ गते हातहतियार खरखजाना मुद्दामा पक्राउ परी जेल सजाए भोगेर बाहिरिएका थारु फेरी जघन्य अपराधमा जोडिएका छन् ।
जेठीले छाडेपछि घरमा कान्छी श्रीमती भित्राएका उनको सम्बन्ध कान्छीसँग पनि सुमधुर रहेन । कान्छीले पनि छाडेर परपुरुष गएपछि मजदुरी गरेर हाल सियारी गाउँपालिका–२ च्याङठामा चार वर्षीया छोरी र आमाको लालनपालन गर्दै आएका उनी हत्याको आरोपमा प्रहरी हिरासतमा छन् । मजदुरीको सिलसिलमा बुटवलमा बसेर लेबर काम गर्दै आएका थिए ।



सधैंझै गत फागुन ७ गते पनि उधारो खाता चल्ने बुटवलको मिलनचोकस्थित मजदुरहरुको ‘मदिरा अड्डा’ बी एण्ड बी खाजा घरमा उनी लोकल मदिरा पिउन पसे । उनका ठेकेदार पनि साथ थिए । त्यही ‘अड्डा’ मा बुटवल क्षेत्रमा बसेर मजदुरी गर्ने दाङको लमही नगरपालिका–७ उच्च लिम्बुको संगिता चौधरी (४०) पनि मदिरा पिउन पसिन् । दुवै जना ‘खाजा घर’ को नियमित ग्राहक थिए । तर, दुवै जनाबीच चिनजान थिएन । संगिताको ०६७ सालमा श्रीमानसँग सम्बन्ध बिच्छेद भइसकेको थियो । उनको छोरा पनि मजदुरी गर्छन र छोरीको विवाह भइसकेको छ । मजदुरीका लागि दाङबाट बुटवल आउजाउ गरिरहन्थिन् उनी ।
प्रहरीका अनुसार मदिरा पिउन पसेका दुवै जनाबीच त्यही परिचय भयो । सहकर्मीको साईकल मागेर मदिरा पिउन आएकी संगितालाई अजयले आफुले कालिकानगरस्थित मजदुर क्याम्प पुर्याईदिने प्रस्तावमा उनी राजी भइन् । ‘त्यहाँबाट दुवै जना साईकलमा सँगै घटनास्थलतर्फ आएको देखिन्छ’,जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले भने, ‘बुटवलबाट साईकलमा लामो दुरीको यात्रा तय गरेर भगदरी पुगेपछि झैझगडा हुँदा थारुले संगिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’
गत फागुन ८ गते संगिताको सियारी गाउँपालिका–२ भगदरीस्थित सडक किनारको खेतमा अनुहार पहिचान नहुने गरी हत्या गरेर परालले छोपिएको अवस्थामा शव बरामद भएको थियो ।

‘विना योजना तत्काल घटाइएको घटना र पहिचान नभएको शव भएकोले घटनाको पहेली सुल्झाउन चुनौतीपूर्ण थियो’, रुपन्देहीका एसपी रंजितसिंह राठौरले भने, ‘तर, हामीले सहज रुपमा ‘म्यानुअल्ली’ र प्रविधि दुवैको सहायताले अनुसन्धानलाई निष्र्कषमा पुरायौँ ।’ थारुको प्राराम्भिक बयान अनुसार घटनास्थल क्षेत्रतर्फ पुग्नु अघि बाटोमा दुवै जनाले पुनः मदिरा पिएका थिए । घटना भएको वडामा मै थारुको घर पर्दछ । संगितालाई उनी आफ्नो घर लैजाने योजना अनुसार त्यहाँबाट सँगै लिएर आएका थिए ।
‘अनुसन्धानमा भगदरी पुगेपछि थारुले राखेको यौन सम्पर्कको प्रस्तावमा संगिताले नमानेर प्रतिकार गरेको खुलेको छ’,डीएसपी कार्कीले भने,‘प्रतिकारको क्रममा संगिता लडेर ढुंगामा खस्दा चोट लागेर नउठेपछि थारुले आफु फस्न सक्ने मनोविज्ञान बनाउँदै मार्ने नियतले त्यी ढुंगाले अनुहार पहिचान नहुने गरी संगिताको कंचटमा पटक पटक हानेर हत्या गरेको देखिन्छ ।’ प्राराम्भिक बयानमा थारुले हत्या गरेको स्विकार गरेको र अनुसन्धानमा प्राप्त प्रमाणको आधारले पनि घटनामा थारुकै संग्लनता देखिएको उनी बताउँछन् ।
‘घटनामा संगितासँग ‘जबरजस्ती’ भएको त अनुसन्धानमा खुलेको छ तर करणी भएको छ वा छैन ?भन्ने विषयमा अनुसन्धान हुँदैछ’,उनले भने,‘हामीले शवबाट संकलित ‘भेजिनल स्वाब’ परिक्षणका लागि पठाएका छौँ । रिपोर्ट आइसकेको छैन ।’ थारुले भने करणी नगरेको प्राराम्भिक बयानमा दावी गरेका छन् ।
प्रहरीले यसरी सुल्झायो ‘मर्डर मिस्ट्री’
घटनाबारे प्रहरी कार्यालयमा जानकारी आएपछि तालिम प्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले ‘क्राइम सिन’ बाट हत्यामा प्रयोग भएको ढुंगा, मृतकले प्रयोग गर्ने सेलफोन, कालो टोपी र चप्पल बरामद गर्यो । अनुसन्धानमा खटाइएको कुकुरले टोपी सुँघेर महिला आएको मार्गतर्फ डोरायो । सफलता हात लागेन । लग्त्तै रुपन्देहीका एसपी राठौरले घटनाको अनुसन्धानको लागि डीएसपी कार्कीको संयोजकत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरे । त्यसपछि पहिचान नभएको महिलाको ‘मर्डर मिस्ट्री’ सुल्झाउनतर्फ टोली अघि बढ्यो ।
‘घटनास्थलबाट बरामद सेलफोन नै अनुसन्धानको पहिलो कडी बन्न पुग्यो’, अनुसन्धानमा खटिएका डीएसपी कार्कीले भने, ‘सेलफोनमा आइरहेको फोनको नम्बरमा सम्पर्क गर्दा संगिताको पहिचान खुल्न पुग्यो ।’ उनी बुटवलको कालिकानगरस्थित ‘लेबर क्याम्प’ बसेर मजदुरी गर्ने विवरण खुलेपछि प्रहरीको एउटा टोली क्याम्पतर्फ र अर्को टोली सेलफोनमा बरामद सिमको नम्बरको ‘सीडिआर’ (कल डिटेल रिपोर्ट) तर्फको विश्लेषणमा लाग्यो ।

क्याम्पमा टोली पुगेर मजदुरहरुबाट आवश्यक सूचना संकलन थाल्यो । केही मजदुर त्यही दिनदेखि विदामा गएको लगायतका शंकास्पद विषयहरु प्रहरी अघि आयो । र, साथै सहकर्मीहरुबाट संगिता ‘साहुनीको पसल’ मा खाजा खान जाने गरेको विषय पनि खुल्यो । र, घटनाको दिन पनि उनी मिलनचोक पुगेर आउने भन्दै सहकर्मीको साईकल लिएर निस्किएकी थिइन् । जसलाई प्रहरीले गम्भिरतापूर्वक लियो । त्यसपछि प्रहरीले ‘साहुनीको पसल’ बाट केही ‘क्लू’ आउन सक्ने भन्दै पसल खोज्न सुरु गर्यो ।
‘मजदुर क्याम्पबाट संगिता ‘साहुनीको पसल’ मा जाने गरेको त खुल्यो तर त्यो पसल कता छ ? नाम के हो ? भन्ने केही खुलेको थिएन । सयौं यस्ता पसलको बीचमा त्यो एउटा पसल हामीलाई खोज्नु थियो’, उनले भने, ‘बुटवल प्रहरी समेतको सहायतामा त्यो पसलको खोजीमा लाग्यौं । अतः ‘साहुनीको पसल’ अर्थात बी एण्ड बी खाजा घर फेला पार्यौं ।’ खाजा घर संचालकले संगिता नियमित ग्राहक बाहेक विषयमा नखुलेपछि प्रहरीले उनलाई ‘सस्पेक्ट’ को सूचीमा राखेर निगरानी गर्न सुरु गर्यो ।
संचालकबाट संगिता आउने गरेको बाहेक महत्वपूर्ण विषय हात नलागेपछि प्रहरीले त्यस क्षेत्रको सीसीटिभी खोजेर फुटेज संकलन गर्न सुरु गर्यो । उता सेलफोनबाट प्राप्त सिम नम्बरको सीडिआरबाट खासै उपलब्धी भएन । तर, शंकास्पदहरुसँग सोधपुछ थालिएको थियो । फुटेजमा स्पष्ट पहिचान नहुने गरी साईकलमा दुई जना देखिएपछि प्रहरीको एउटा टोली घटनास्थल क्षेत्र देखि लामो दुरीसम्मको खोला किनार, झाडी, खोल्साहरुमा साईकल खोज्न सुरु गर्यो । फुटेजमा दुई जना देखिएपछि यता प्रहरी खाजा घर संचालकसँग कडा रुपमा प्रस्तुत भएपछि उनी खुलिन् ।
पसलको उधारो खाता रजिष्टर अनुसार फागुन ७ गते साँझ संगिता आएको दिन नियमित ग्राहक मध्ये अजय थारु र उनको ठेकेदार पनि आएको खुल्यो । जुन प्रहरी अनुसन्धानमा महत्वपूर्ण ‘क्लू’ हुन पुग्यो । प्रहरीले उक्त ठेकेदारको ठेगाना खोज्यो । थारु दुई वटा नामले परिचित रहेकोले पसलको खातामा उनको नाम अजय उल्लेख थियो ।
त्यसपछि प्रहरीले बुटवलको चौराहा क्षेत्रमा रहेको उक्त ठेकेदारको क्याम्पमा पुगेर विभिन्न व्यक्तिहरुसँग सोधपुछ थाल्यो । र, अजय नामक मजदुरले आफ्नो सबै कपडा लिएर गएको र केही दिन देखि काममा नआएको विषय खुल्यो । संगिताको क्याम्पबाट पनि केही मजदुर घटना भएपछि विदामा थिए । तर, अजयको हकमा नफर्किने गरी सबै कपडा लिएर गएको विषय खुलेपछि प्रहरीले अजयलाई ‘सस्पेक्ट’ सूचीको एक नम्बरमा राख्यो ।
‘हत्या गरेर घरमै बसेका थारुले समय समयमा ठेकेदारलाई फोनमार्फत पारिश्रमिक माग्दै आएपनि ठेकेदारले आलटाल गर्दै आएका थिए’, डीएसपी कार्कीले भने,‘थारुको सेलफोन ‘अन’ रहेपनि वतन खुलेको थिएन र फरार हुन सक्ने भएकोले फोन वा ‘मुभमेन्ट’ गरेर हामीले ‘रिक्स’ लिन चाहेनौं । योजना बनाएर संगिताले प्रयोग गरेको साईकलसहित उनलाई बेथरीबाट पक्राउ गर्न सफल भयौ ।’

प्रहरीले ९ दिनमा सुल्झाएको ‘मर्डर मिस्ट्री’ अनुसन्धानको क्रममा ६ जना ‘सस्पेक्ट’ लाई कार्यालयमा ल्याएर ६० भन्दा बढी व्यक्तिहरुसँग घटनाका सम्बन्धमा सोधपुछ गरेको थियो । घटनास्थलबाट बरामद कालो टोपी र चप्पल आफ्नो रहेको थारुले सनाखत गरेको प्रहरीले जनाएको छ ।