
काठमाडौं,२२ फागुन । जनकपुरबाट काठमाडौंका लागि उडानको क्रममा बुद्ध एयरको विमानको अगाडीको चक्का (नोज ह्विल) खसेको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार ६२ यात्रुसहित उडान भरेको यूफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक ९ एन-एएनएच कलसाइनको बुद्ध एयर काठमाण्डौं विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र विमानको चक्का खसेको थाहा भएको थियो । जनकपुरबाट ४ः३९ बजे उडान भरेको विमानको अगाडी दुईवटा नोज ह्वील हुनुपर्नेमा अवतरणपछि एउटा मात्रै पाइएको थियो ।
Advertisement

Advertisement
Advertisement

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि गरिएको नियमित प्राविधिक निरीक्षणका क्रममा नोज ल्याण्डिङ गियर नदेखिएपछि खोजी गरिएको थियो ।
काठमाडौंको विमानस्थलका साथै जनकपुरमा पनि हराएको चक्का खोजी गर्दा जनकपुर विमानस्थलको रनवेको टर्निङ प्याडमा भेटिएको उनले जनाए।

‘ल्यान्डिङ गेयरको नोटिफिकेशन ककपिटमा नआउने र कुनै इन्डिकेटरले सूचित नगरेकाले एउटा चक्काले मात्रै भए पनि जहाज सकुशल अवतरण गरेको हो’, उनले भने । विमानमा सवार सबै यात्रु सकुसल रहेको र विमानलाई ग्राउन्डेड गरेर घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

