
दाङ, २७ फागुन । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीहरुलाई आफैले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म करिब एक करोड रुपैयाँ बराबरको स्रोत संकलन भइसकेको छ भने ७ हजार ५ सय भन्दा बढी पूर्व विद्यार्थीहरु अभियानमा संलग्न भएका छन्। गत फागुन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गरेका थिए। सामाजिक विकास मन्त्रालयले प्रदेशका सम्पूर्ण विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको ज्ञान, सीप र लगानीलाई प्रभावकारी रुपमा उपयोग गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको हो। १७ वटा विद्यालयबाट एकैसाथ अभियान प्रारम्भ गरिएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मुख्यमन्त्री आचर्याले सामूदायिक विद्यालयहरुप्रति अझै विश्वास र भरोसा बढाउनु आवश्यक भएकाले अभियान थालिएको र अहिले अभियान प्रभावकारी हुँदै गएको बताए। ‘अभियान सुरु भएपछि पूर्व विद्यार्थीहरु आफैले कखरा चिनेको विद्यालयमा पुग्न थाल्नुभएको छ। यसले उहाँहरुलाई आफ्नो विद्यालयप्रति मात्र जवाफदेही बनाएको छैन, शिक्षण सिकाइमा समेत योगदान गर्ने अवसर सिर्जना गरेको छ’, उनले भने ,‘यो अभियान शैक्षिक गुणस्तर अभिवृद्धिको महत्वपूर्ण माध्यम बन्नेछ।’
हाल विद्यालयहको वार्षिकोत्सवमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अभियानले यस्ता अनावश्यक खर्च रोक्न र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मद्दत पुग्ने बताए।
‘अभियानले पूर्व विद्यार्थीहरुलाई उत्साहित बनाएको छ। उनीहरु नियमित रुपमा विद्यालयमा पुगेर योगदान दिन थालेका छन्’,उनले भने,‘विद्यालयका कार्यक्रमहरु रचनात्मक र प्रभावकारी हुनुपर्छ। जसमा विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ।’
मन्त्रालयका उपसचिव विष्णु प्रसाद पन्थीका अनुसार अभियान प्रभावकारी देखिएको छ। ‘पूर्व विद्यार्थीहरुलाई आकर्षित गर्ने काममा यो अभियान सफल भएको छ। हालसम्म करिब १ करोड रुपैयाँ बराबरको कोष स्थापना भइसकेको छ भने ७ हजार भन्दा बढी पूर्व विद्यार्थीहरू परिचालित भएका छन्’, उनले भने ‘प्रदेशका सबै सामूदायिक विद्यालयमा पूर्व विद्यार्थीहरूको सक्रियता अभिवृद्धि गर्न हामी सफल भएका छौं।’
लुम्बिनी प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन्। जसमध्ये ४ हजार ५ सय ३१ सामूदायिक विद्यालय छन्। यी विद्यालयहरुमा अध्ययनरत १२ लाख ८८ हजार २ सय ९८ विद्यार्थीहरुमध्ये ९ लाख २५ हजार ६ सय २९ जना विद्यार्थी सामूदायिक विद्यालयमा अध्ययनरत छन् ।

