


काठमाडौं, २९ फागुन। सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
नेपालमा वार्षिक ७० लाख टन धानको माग छ। जसमध्ये करिब ५४ लाख टन मात्र देशमा उत्पादन हुन्छ। कृषि मन्त्रालयका अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता असारे धानको तुलनामा धेरै छ। तर, सिँचाइ अभावले चैते धान उत्पादन धेरै क्षेत्रफलमा विस्तार हुन सकेको छैन असारे र चैते गरी नेपालमा साढे १४ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ।

