


काठमाडौं, ७ चैत। भारतको मथुरामा अनौठो घटना भएको छ। वृन्दावनको सुनरख गाउँका ३२ वर्षीय राजाबाबू ठाकुरले पेट दुखेपछि युट्युब हेरेर आफ्नो अपरेशन गरेका छन्। अपरेशन गरेर उनले ११ वटा टाँका पनि लगाए।
१८ वर्षअघि उनले एपेन्डिक्सको अपरेशन गराएका थिए। त्यसयता पेट दुख्ने समस्या बारम्बार भइरहेको थियो। धेरैपटक चिकित्सकहरुसँग उपचार गराए पनि कुनै सुधार देखिएको थिएन। त्यसपछि उनले युट्युब हेरेर आफै अपरेशन गर्ने सोच बनाए र गरे।

उनले पहिले दुखाई कम गर्नका लागि सुन्न पार्न इंजेक्सन (एनेस्थीसिया) लगाए र त्यसपछि सर्जिकल ब्लेडको सहायताले पेट चिरे। सुरुमा उनलाई पीडा महसुस भएन। तर, केही समयपछि औषधिको असर सकिएपछि असह्य पीडा भयो।
परिवारका सदस्यहरुले उनको चिच्याहट सुनेर तत्काल अस्पताल लगेपछि चिकित्सकहरुले भर्ना गरेर उनको उपचार सुरु गरेका छन्। चिकित्सकहरुका अनुसार उचित ज्ञानबिना यस्तो कदम चाल्नु ज्यानमारा हुन सक्छ।हाल राजा बाबूको अवस्था स्थिर रहेको छ।भारतीय संचारमाध्यमको सहयोगमा।

