
लुम्बिनी, ८चैत ८। संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन्। शुक्रबार दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरुको आयोजनामा विहिबारदेखि शुरु भएको महोत्सवको शुक्रबार विहान उद्घाटन समारोह गरिएको हो । मन्त्री पाण्डेले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको बताए।
Advertisement

Advertisement
Advertisement

विश्वव्यापी रुपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताए। उनले विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको जनाए। उनले चिनियाँ दुताबासले गरेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपालको पर्यटन प्रवद्र्धनसँगै मित्रता भातृत्व र एकतालाई बलियो बनाउने बताए। मन्त्री पाण्डेले नेपालले संस्कृती, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिनसक्ने बताउँदै यसको प्रमुख गन्तव्य लुम्बिनी हुने बताए ।
उनले हालै पर्यटन प्रवद्र्धन, संस्कृती आदानप्रदान र हवाईसेवा विस्तारका लागि थाईल्याण्ड, कम्बोडिया लगायतका देशसँग सहकार्यमा सम्झौता भएकाले त्यसको कार्यान्वयनमा लाग्न आग्रह गरे। लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्वशान्ति सहर बनाउनुपर्नेमा जोड दिए।
यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनी बुद्वको ध्यानका लागि विश्वकै उत्कृष्ट स्थल रहेको बताए । उनले बुद्विजमको उत्पती र शान्तिको सन्देश दिने स्थल लुम्बिनी रहेकाले महोत्सवले त्यसको प्रवद्वनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले बुद्वका ८४ हजार उपदेशहरु रहेको भन्दै त्यो मानव जीवनका लागि निकै उपयोगी रहेको बताए ।
पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशिले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रर्वद्वनमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले लुम्बिनी विश्वभरका बौद्वमार्गीसंगै विश्वभरका शान्तिप्रियहरुको पनि पवित्रस्थल रहेकाले यहाँ गरिएको शान्ति महोत्सव, ध्यान, साँस्कृतिक कार्यक्रमले विश्वभर सकरात्मक सन्देश जाने बताए।
नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्गले चिनले नेपालसंगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तराष्ट्रिय शान्ति सम्मेलन गरेको बताए। उनले नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सम्मेलनको उद्घाटन मायादेवी मन्दिर उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान गराइएको थियो।
शनिबार खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष पूर्वमन्त्री जीवनराम श्रेष्ठले बताए । शुक्रबार समितिले लुम्बिनी क्षेत्रका खेलकुदका सामाग्रीहरु समेत वितरण गर्नेछ ।
शुक्रबार नै लुम्बिनी विश्वविद्यालयमा साँस्कृतिक आदानप्रदान कार्यक्रम, साँझ लुम्बिनी स्क्वायरमा साँस्कृतिक कार्यक्रम राखिएको दूतावासले जनाएको छ।

