


काठमाडौ, ११ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई पक्राउ गरेको छ। भ्रष्टाचार मुद्दामा अदालतबाट सजाए पाएका उप्रेतीलाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता सुधिर राज शाहीले बताए।
गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा २ करोड बढी भ्रष्टाचार गरेको आरोपपत्र सहित अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

सर्वोच्च अदालतले गत मंसिर १२ गते भ्रष्टाचार मुद्दामा उप्रेतीलाई दोषी ठहर गर्दै २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाएको फैसला गरेको थियो।
फैसला कार्यान्वयनका लागि उप्रेतीलाई डिल्लीबजार कारागार चलान गरिएको सीआईबीले जनाएको छ।

