


काठमाडौं, १४ चैत। चालू आर्थिक वर्षमा चार लाख ३३ हजार ७०३ करदाता बढेका छन् । अर्थ मन्त्रालयका अनुसार हालसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६६ लाख ५९ हजार ८३६ पुगेको छ।
नयाँ दर्ता भएका करदातामध्ये व्यावसायिक प्यान ३० दशमलव २ प्रतिशत, कर कट्टी गर्ने निकायका प्यान ० दशमलव ५ प्रतिशत र व्यक्तिगत प्यान ६९ दशमलव ३ प्रतिशत रहेका छन्।

त्यस्तै मूल्य अभिवृद्धि करमा (भ्याट) दर्ता भएका करदाताको संख्या ३ लाख ४१ हजार ७१६ पुगेको छ भने अन्तःशुल्कमा दर्ता भएका करदाता १ लाख २३ हजार १३२ छन् । करदाता संख्या उल्लेख्य रुपमा बढे पनि सरकारको राजस्व सङ्कलन अपेक्षाअनुसार वृद्धि हुन सकेको छैन ।
सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। तर, चैत पहिलो सातासम्म खर्ब ३७ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सोही अवधिमा सरकारको बजेट घाटा १ खर्ब रुपैयाँ नाघिसकेको छ। सरकारले करदाताको संख्या वृद्धि भएसँगै राजस्व संकलनलाई गति दिन विभिन्न सुधार योजनाहरु लागू गर्ने तयारी गरिरहेको बताएको छ।

