


दाङ, १५चैत। दाङमा एक महिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट गरिएको छ। दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि सोही पालिकाको वडा नं. ११ मा निर्घात कुटपिट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको छ।
घटना सार्वजनिक भएपछि घटना दबाउने समेत खोजिएको स्थानीयहरुले बताएका छन्।। शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको सार्वजनिक भएको भिडियोमा देखिन्छ।

शिलाले जीवनयापनका लागि सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। ‘यो घटना गाउँमै मिलाइएको रहेछ’,उनले भनिन्, ‘पीडितकी आमाले सामाजिक सञ्जालमा भिडियो देखेपछि बिहीबार घटना प्रहरीमा पुगेको हो।’
स्थानीयका अनुसार राजनीतिक दलका स्थानीय नेताहरुले ७० हजार रुपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएका थिए। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय ‘भद्रभलादमी’को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको थियो ।
भिडियो सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको रुपैयाँ फिर्ता गरिएको बताइएको छ। बिहीबार पीडितले आरोपितविरुद्ध दिएको अमान्य व्यवहारको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
उनले घटनामा संग्लन तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए। पीडितका अनुसार कुटपिटले घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ चोट रहेको छ। शिलामाथि कुटपिट गरेको भिडियो कुट्नेहरु आफैंले सामाजिक सञ्जालमा राखेका थिए।

