


कैलाली, १६ चैत। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन्।
मन्त्री चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।

उनले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो। उनले त्यसबेला भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरुसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरे।
उनले आफूले अडियोमा सुनिएजस्तो कुनै लेनदेन नगरेको दाबी गर्दै वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको बताएका छन् । उक्त अडियो पुरानो भएको उनले बताए।
उनले आफु निर्दोष रहेको र दोषी भए सजाए भोग्न तयार रहेको बताए। नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उनी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए।

