


काठमाडौ,२९चैत। सहकारी ठगी र संगठित अपराध मुद्दामा रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
रास्वपाका सहप्रवक्ता प्रतिभा रावलका अनुसार शुक्रबार रवि लामिछानेकी श्रीमती निकिता पौडेल अदालतमा आफै पुगेर उच्च अदालतको आदेशविरुद्ध रिट दर्ता गराएकी हुन् ।

जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश चित्त नबुझेको भन्दै रवि र सरकारी वकिल कार्यालय रुपन्देही दुवै पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका थिए।
गत चैत २२ गते उच्च अदालत बुटवलका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको थियो। त्यसपछि काठमाडौं निवासबाट पक्राउ गरिएको लामिछानेलाई अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवाको थुनामा पठाइएको थियो ।

