


काठमाडौं,१बैशाख। चालु आर्थिक वर्ष २०८१/०८२ मा विकास खर्च २९ प्रतिशत मात्र भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर मध्ये चैत ३० गतेसम्म एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ बराबर मात्रै खर्च भएको छ। वार्षिक विनियोजनको तुलनामा हालसम्मको पूँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो ।
विकास खर्च मात्र नभई उक्त अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो। चैत मसान्तसम्ममा नौ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै, चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा ५९ दशमलव ४५ प्रतिशत अर्थात् ६ खर्ब ७८ अर्ब छ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
वित्तीय व्यवस्था शीर्षकमा चैत मसान्तसम्म ५९ दशमलव २३ प्रतिशत बराबर खर्च भएको छ। चालु आर्थिक वर्षका लागि यो शीर्षकमा सरकारले तीन खर्ब ६७ अर्ब २८ करोड खर्च रुपैयाँ विनियोजन गरेकामा वार्षिक विनियोजनको ५९ दशमलव २३ प्रतिशत खर्च भएको हो ।
उक्त अवधिमा सरकारले राजस्व संकलन समेत प्रभावकारी रुपमा गर्न नसकेको देखिएको छ। कुल १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व संकलन लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म आठ खर्ब २१ अर्ब ६७ करोड बराबर मात्रै राजस्व संकलन भएको छ। यो वार्षिक लक्ष्यको ५७ दशमलव ८९ प्रतिशत बराबर हो ।
त्यस्तै, चालु आर्थिक वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान संकलन लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २७ दशमलव २७ प्रतिशत अर्थात् १४ अर्ब २६ करोड ८८ लाख रुपैयाँ बराबर मात्रै अनुदान संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

