
भैरहवा, १४ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहको आइतबार भैरहवामा उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन्
उनले बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन जोड दिए। ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन? प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन? यसबारे ध्यान दिन जरुरी छ’,उनले भने,‘आवश्यकताको आधारमा रकम खर्च भएको छ कि? त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैंकले समीक्षा गर्न जरुरी छ ।’
Advertisement

Advertisement
Advertisement

बैंक तथा वित्तीय संस्थाले गुनासो नआउने गरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए। ‘बैंक तथा वित्तीय संस्थाले लगानी गर्दा एक प्रकारको ब्याजदर निर्धारण गर्ने र पछि ब्याजदरमा वृद्धि गर्ने गरेको गुनासो व्यवसायीहरुको छ। गुनासो नआउने गरी काम गर्न जरुरी छ’,उनले भने,‘यस्ता गतिविधिले व्यवसायीहरुमा पीडा पर्ने गरेको छ।’ प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको उनको भनाई छ।
लुम्बिनी प्रदेशका बैंकहरुको अभिभावकका रुपमा राष्ट्र बैंकको कार्यालय रहेको उल्लेख गर्दै सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको उनले बताए। राष्ट्र बैंक बैंकहरुको बैंक भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीहरुको समाधानका लागि राष्ट्र बैंक चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएको बताए। राष्ट्र बैंकको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रुपमा लिने गरिएको पनि उनले बताए। प्रदेश स्तरमा केन्द्रीय बैंकको रुपमा संस्थाको आवश्यकता महसुस गरिएको उनको भनाइ छ ।

