
लुम्बिनी,१४बैशाख। बौद्ध दर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्याउने व्यक्तिहरुको विषयमा अनुसन्धान र प्रवद्र्धन गर्ने घोषणासहित लुम्बिनीमा जारी ‘वान बेल्ड वान रोड’ नेपाल–चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न भएको छ।
६ बुँदे संयुक्त घोषणापत्र जारी गर्दै बौद्ध कला र संस्कृतिको गहन अनुसन्धानमा कार्य गर्ने प्रतिवद्धता जनाइएको छ। बुद्धभद्र, अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग, मञ्जुश्री बारे अनुसन्धान र प्रवद्र्धनमा विशेष जोड दिने घोषणा गरिएको हो।
Advertisement

Advertisement
Advertisement

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र चीन संस्कृति प्रवद्र्धन सोसाइटीका उपाध्यक्ष छन् होङ्ग छ्याङ्गले संयुक्त रुपमा घोषणापत्र जारी गरे। प्रधानमन्त्री एवं बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको सन् २०२४ मा भएको चीन भ्रमणको अवसरमा भएको सम्झौता र धारणा बमोजिम दुई देशको सम्बन्धलाई सुदृढ बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ।
बौद्ध अध्ययन, पुरातत्व र संस्कृतिको संरक्षणमा प्राज्ञिक अनुसन्धान गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयमा फासियान ह्वेनसाङ्ग छात्रवृत्ति स्थापना गर्ने घोषणा भएको छ। उक्त कोषका लागि चिनिया पक्षबाट ३८ लाख हस्तान्तरण समेत भएको हो।
लुम्बिनीको महत्वलाई मध्यनजर गर्दै बौद्ध कुटनीति र पर्यटन विकासमा जोड दिने घोषणा पत्रमा उल्लेख गरिएको छ। प्राचिक बौद्ध सम्पदाहरुको संरक्षण र प्रवद्र्धनका गर्दै बौद्ध परम्परागत चिकित्सा पद्धतिको विकास र सम्बद्र्धन गर्ने सेमिनारले निचोड निकालेको छ। ‘वान बेल्ड वान रोड’ को आधारमा बौद्ध कला र संस्कृतिमा गहन शैक्षिक र सांस्कृति आदानप्रदान गर्ने घोषणा समेत गरिएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना भएको हो।
सेमिनारमा दुई दिनमा ४० वटा कार्यपत्र प्रस्तुत भएका छन्। बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत भएको संयोजक डा. सागर न्यौपानेले जानकारी दिए ।

