
कमल रायमाझी
बाग्लुङ, १९ बैशाख।सिथिल परेको आर्थिक क्षेत्रलाई चलायामन गराएर आर्थिक समृद्धिका साथै उद्योग व्यवसायीको हितमा काम गर्नका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही कार्ययोजना बनाउनमा जुटेको छ।
अध्ययन भ्रमणका लागि विभिन्न जिल्लाको दौडाहामा रहेको संघ बाग्लुङ पुगेर शुक्रबारदेखि योजना निर्माण तथा दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठी सुरु गरेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बाग्लुङको ईला कम्फर्ट होटलको सभाहलमा सुरु भएको कार्ययोजना तर्जुमा गोष्ठीको उद्धघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले नेपाल धेरै सम्भावना रहेको देश भएको भन्दै विदेश पलायन हुनबाट युवा पंक्तिलाई रोक्नु पर्ने बताए।
नीजिक्षेत्रले यसको नेतृत्व गर्न सक्नुपर्ने उनको भनाई छ। मुलुकमा धेरै कामगर्न सक्ने सम्भावना भएपनि देशका दक्षजनशक्ति विदेशीने क्रम नरोकिएकाले सरकारसंगको सहकार्यमा निजीक्षेत्र जोडिनुपर्ने उनले बताए।
आफ्नो बाल्यकाल बुवाको अभाव र आमाको साहारामा अगाडी बढ्दै आज सम्म आउँदा नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष सम्म हुनपुगेको भन्दै उद्योग व्यावसायीलाई सबैक्षेत्रबाट संकट र समस्या पार्ने कार्य नेपालमा भइरहेको बताए।
‘अख्तियारबाट समेत नीजिक्षेत्रको अनुसन्धान तथा कार्वाहीको जिम्मेवारी दिने गलत कार्य समेत भएको तर आफुहरुले त्यो नीति रोक्न सफल छौँ’,उनले भने,‘हामीले परिश्रम र योजना निरन्तर गर्न सके सफलता देशैमा हुन सक्ने भएकाले सबैले देशप्रेमको भावनाका साथ काम गर्न आग्रह गरे।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले योजना निर्माण तथा दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठीको सफलताको शुभकामना दिदै रुपन्देहीको मात्र नभएर देशकै आर्थिक समृद्धि गर्ने तर्फ योजना निर्माण हुनेमा आफु विश्वत रहेको बताए।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ देशको आर्थिक केन्द्रमा रहेको संघ भएकाले यसले निर्माण गर्ने दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठीले उद्योगी व्यापारीको समृद्धिमा सहयोग पुर्याउने खालको हुनुपर्ने सुझाव दिए।
दुई दिन सम्म चल्ने योजना निर्माण तथा दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठी शनिवार सकिने छ । यसले सिद्धार्थ उद्योग वाणिज्य संघले गर्ने दुई वर्षे कार्ययोजना निर्माण गर्नेछ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षमा तथा महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ पर्वत, बाग्लुङका अध्यक्ष तथा पदाधिकारीहरुको पनि सहभागित थियो। साथै, कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा कार्यसमितिका सदस्यहरु र सल्लाहकारको सहभागिता थियो।

