
दाङ,२४बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा परिवर्तन ल्याउनेगरी प्रदेश सरकारले नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन्।
नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रम सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण एवं पूर्ण प्रस्ताव लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई बुधबार लमहीमा सम्बोधन गर्दै उनले विकास मोडेललाई नव प्रवर्तनको क्षेत्रमा अनिवार्य रुपमा जोड्न जरुरी रहेको बताए।
Advertisement
Advertisement
Advertisement

‘विकास भनेको भौतिक पूर्वाधार मात्रै हो। बाटो, पुल मात्रै हुन भन्ने बुझाइ नै गलत भयो। अब मानवीय विकास र स्थानीय उत्पादन बढाउनेगरी लगानी केन्द्रित गर्न जरुरी छ’, उनले भने,‘विकास मोडेललाई परिवर्तन नगरेसम्म आधारभूत तहका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन। यसमा हामी सबै गम्भीर बन्न जरुरी छ।’
संघीयतालाई बलियो बनाउन तीन तहका सरकारले नै नव प्रवर्तनको क्षेत्रमा प्राथमिकताका साथ काम अघि बढाउनुपर्नेमा उनको जोड थियो।उनले प्रदेश सरकारले कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन थालेको जानकारी दिए।
‘सस्तो लोकप्रियताका लागि सधैं घाटाको बजेट बनाउने काम भयो। तर, अब हामीले आशा जगाउनेगरी यथार्थ धरातलमा रहेर बजेट ल्याउँछौं। गाली खान तयार छौं तर, सरकारको कामलाई लयमा फर्काएर छाड्छौं’,उनले भने, ‘योजना छनोट र बजेट निर्माण अनि कार्यान्वयनको विधिलाई समेत सिस्टममा बसाल्न चाहन्छौं।’
लुम्बिनी प्रदेश सरकारले शैक्षिक प्रणाली, आर्थिक विकास, शासकीय शैली, पूर्वाधार निर्माण चक्र, सेवा प्रवाह, नीति निर्माणदेखि मूल्यांकनसम्म, गुनासो व्यवस्थापन लगायतका क्षेत्रलाई आधार मानेर नव प्रवर्तन कार्यक्रम अघि बढाइएको हो।

