


काठमाडौं,२७बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालीको रोजगारीका लागि जापान उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन्।
काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) र जापान इन्टरनेशनल लेबर फाउन्डेसन (जेआईएलएफ) को सहकार्यको तीन दशकको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै उनले आगामी १० वर्षमा जापानलाई विभिन्न क्षेत्रमा करिब १ करोड जनशक्तिको आवश्यकता भएको भन्दै त्यसकारणले जापान नेपालको लागि काम गर्ने उपयुक्त गन्तव्य हुन सक्ने बताएका हुन्।

उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियो र अत्यन्तै मिहेनत गर्ने मुलुक हो। हामीले जापानसँग सहकार्य गर्दा प्राविधिकसँगै संस्कार पनि सिकाउँछ। जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ।’
मन्त्री भण्डारीले जापानको यथार्थ भनेको आगामी १० वर्षमा जापानलाई विभिन्न विधामा १ करोड जनशक्तिको आवश्यकता हुने स्थिती निमार्ण हुन लागेको जिकिर गर्दै पनि जापान नेपालको लागि उपयुक्त ठाँउ हुने सक्ने दाबी गरे।
फरक प्रसंगमा उनले नेपालबाट वैदेशिक रोजगारमा जाने सम्पूर्ण श्रमिक नेपाली नागरिक भएको बताउँदै उनीहरुको सम्पूर्ण सुरक्षाको लागि सबै जना मिलेर काम गर्नुपर्ने बताए।
उनले भने, ‘नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि जहाँ गएपनि उनीहरुको सम्पूर्ण सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ। उनीहरुलाई अवैधानिक कामदारको रुपमा काम गर्ने अवस्थाको अन्त्यका लागि सबै मिलेर साझा धारणा बनाउन जरुरी छ।’

