


काठमाडौं,२७बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।
शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरु भन्दै लाञ्छना लगाए।

त्यस्ताले अझै हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको ओलीको दावी थियो। देश कंगाल बनाउने काम राजाहरुले गरेको उनको आरोप छ। अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको भन्दै देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने बताए।
उनले भने, ‘अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरु फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ, भनेर लाजै मान्दैन। देश कंगाल बनाउने त यीनैहरु हुन्। अहिले यो ३० वर्षमा यति विकास गरेको छ । त्यो तथ्यांकले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला।’
प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता अहिलेको रहेको भन्दै अहिलेको पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्ने बताए।

