
भैरहवा, २७ वैशाख। रात्रीकालीन व्यवसाय संचालनका लागि सुरक्षा निकायले सहयोग गर्न व्यवसायीहरुले आग्रह गरेका छन्। उनीहरुले पर्यटन क्षेत्रको विकासका लागि रात्रीकालीन व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिए।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीको स्वागत तथा परिचयात्मक कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रममा संगठनका अध्यक्ष दर्पण श्रेष्ठले खुल्ला सीमाका अवसर र चुनौती दुवै रहेको भन्दै खुल्ला सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने उनले बताए। अवैध रुपमा भित्रिने सामानका कारण नेपाली व्यवसायी मर्कामा परेकाले चोरी तस्करी नियन्त्रणमा ध्यान दिन उनले आग्रह गरे। ‘पछिल्लो समय उद्योगी–व्यवसायी पलायन भइरहेका छन् । उद्योग–व्यवसाय बचाउनुपर्छ’, उनले भने।
संगठनका निवर्तमान अध्यक्ष तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सीमापारी उपभोक्ताको भिडभाड हुँदा सीमावारीको बजार भने सुनसान रहेको बताए। उनले रात्रीकालीन बजार संचालन गर्नुपर्नेमा जोड दिए। ‘कम्तीमा राती ११ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिनुपर्छ। राती पनि पर्यटक आउँछन्। सुरक्षा निकायले व्यवसाय संचालन गर्दा दुःख दिनुहुँदैन। रात्रीकालीन व्यवसाय संचालन गर्नु अहिलेको आवश्यकता हो’,उनले भने। रात्रीकालीन व्यवसायले यहाँको व्यापारलाई चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले सुरक्षा निकायसँग हातेमालो गर्दै अघि बढ्ने बताए। संगठनका पूर्वअध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्रीले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्य (वाई.पी.)ले रात्रीकालीन व्यवसाय संचालनका लागि साथ र सहयोग गर्न एसपी क्षेत्रीलाई आग्रह गरे। ‘गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द भएकोले त्यसै पनि मर्कामा परेका छौं’,उनले भने । रात्रीकालीन व्यवसायलाई थप व्यवस्थित बनाएर संचालन गर्नुपर्ने उनको भनाइ थियो। त्यसका लागि सुरक्षा निकायको साथ र सहयोगको खाँचो रहेको आचार्यले बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले ढुक्क भएर व्यवसाय संचालन गर्न आग्रह भए। ‘कानूनबमोजिम काम गर्नुस्, प्रहरीबाट कुनै अवरोध हुँदैन । प्रत्येक पाइलामा यहाँहरुको साथ र सहयोग आवश्यक छ । कुनै समस्या भए तत्काल प्रहरीलाई खबर गर्नुहोस् ।’उनले भने ।
कार्यक्रममा लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतम, किराना तथा प्लाष्टिक व्यवसायी संघ भैरहवा, रुपन्देहीका महासचिव झबिन्द्र प्रसाद बेल्बासे, चेम्बर अफ कमर्स, रुपन्देहीका सल्लाहकार भोपेन्द्र प्रसाद यादव, दीपक बहादुर कुँवर, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेल लगायतले बोलेका थिए।
चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको स्वागत तथा महासचिव लक्ष्मी अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

