


अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए’ मा गायक रामजी खाँड र गायिका सुनिता दुलाल उत्कृष्ट गायक गायिका घोषित भएका छन्। गायक खाँडको बन्दिपुरे सोल्टिनी र गायिका सुनिता दुलालको ‘नबोल अरुसँग’ गीतले अवार्ड जितेको हो।
टप शप काठमाडौंको प्रस्तुतिमा रेभेल इभेन्ट्स इंक , बुद्ध ट्याक्स एकाउन्टिङ र शतिसाल ग्रुप एलएलसि यूएसएको संयुक्त आयोजनामा फस्ट टप शप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए २०२५ को आयोजना भएको थियो।

अवार्डको आयोजकहरुमा रेवेल इभेन्ट्सका तर्फबाट राजेश हमाल, इत्ना कार्की, निश्चल वाइबा, बुद्ध ट्याक्स एकाउन्टिङको तर्फबाट पशुपति श्रेष्ठ र शतिसाल ग्रुप एलएलसी युएसएका तर्फबाट लकेश श्रेष्ठ र सजना महर्जन रहेका थिए।
अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट संगीतरत्न शम्भूजित बासकोटा र पप गायक विष्ट सम्मानित भए। चलचित्र तेल भिसाका लागि शंकर घिमिरे उत्कृष्ट निर्देशक, ऋचा घिमिरे सहायक अभिनेत्री, अन्जय खड्कालाई उत्कृष्ट चलचित्र सम्पादन अवार्ड , नायिका नीति शाह ज्वाई साहेबका लागि उत्कृष्ट नव–अभिनेत्री, चलचित्र ह्वस्व दीर्घबाट प्रशान्त ताम्राकारलाई उत्कृष्ट खलपात्रको अवार्ड प्रदान गरिएको छ।

