


लुम्बिनी, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको गुरुयोजना पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले गुरुयोजना अन्र्तगत लुम्बिनीमा पूर्वाधार निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउने घोषणा गरे।उनले बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गर्दै आएको बताए।
‘बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्। भारत र पाकिस्तानबीच तनाव उत्पन्न हुँदा हामीले शान्ति कायम गर्न अनुरोध गर्यौँ ‘, उनले भने, ‘बुद्धका शान्तिका सन्देशहरु अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक छन्।’
अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्ने उनले बताए ।
उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे।हिंसाबाट टाढा रहन र मैत्रीभाव तथा करुणाको विकास होस् भन्ने उद्देश्यले काम गरिएको उनको भनाइ थियो ।

