
भैरहवा, २९ वैशाख। बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी संग्रहालय परिसरमा संरक्षण प्रयोगशाला (ल्याब) को स्थापना गरिएको छ । संयुक्त राज्य अमेरिका (यु.एस.ए) एम्बेसडर फण्ड फर कल्चरल प्रिजरभेसनको सहयोगमा बुद्ध फाउण्डेशन, लुम्बिनी विकास कोष र पुरातत्व विभागको संयुक्त साझेदारीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।
पुरातात्विक वस्तुहरुको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशालाको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले बुद्ध जयन्तीको अवसरमा लुम्बिनी संग्राहलय संरक्षण प्रयोगशाला (केन्द्र) को उद्घाटन सबैका लागि अत्यन्तै सान्दर्भिक, ऐतिहासिक र गौरवपूर्ण क्षण भएको बताए। ‘लुम्बिनी कुनै एक धर्म र भुगोलको मात्र विषय होइन’,उनले भने–‘यो सम्पूर्ण मानव सभ्यता, साँस्कृतिक,पुरातात्विक र कलात्मक सम्पत्ति हो। यसको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो।’ उनले अमेरिकी सरकार र नेपालस्थित अमेरिकी दुतावासप्रति आभार व्यक्त गरे।
Advertisement

Advertisement
Advertisement

उनले संरक्षण प्रयोगशालाले स्थानीय जनशक्तिलाई आवश्यक सीप, ज्ञान र प्रविधिमा दक्ष बनाउनेमा विश्वास व्यक्त गरे। लुम्बिनी जस्तो संवेदनशील र पवित्रस्थलमा संरक्षण र पर्यटनबीच सन्तुलन कायम गर्न अत्यावश्यक रहेको उनको भनाइ थियो। ‘म विश्वास गर्छु यो केन्द्रले दिगो पर्यटनको अवधारणालाई बलियो बनाउने कार्यमा सहयोग पुर्याउनेछ’,उनले भने।
नेपालको पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला लुम्बिनीमै स्थापना हुनु सम्पदा संरक्षणको यात्रामा एक महत्वपूर्ण मोड भएको उनले बताए। यसले संरक्षण कार्यलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउने उनको विश्वास छ।
त्यस्तै प्रयोगशाला उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी विश्वभरका कराडौं श्रद्धालुहरुको पवित्र तीर्थस्थल मात्र नभइ यो नेपालको प्राचिन सभ्यता र समृद्ध इतिहासको प्रतीक भएको बताए। उनले यो प्रयोगशाला केवल एक प्राविधिक संशाधन मात्र नभइ यो शिक्षा, क्षमता विकास र सामुदायिक सहभागीताको केन्द्र पनि हुने विश्वास व्यक्त गरे।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले सम्पदा संरक्षणका लागि प्रयोगशाला सञ्चालन हुँदा यसले पुरातात्विक वस्तुहरुको संरक्षणमा ठूलो टेवा पुग्ने अपेक्षा राखेको बताए। उनले लुम्बिनी बौद्ध दर्शनको उत्पति भएको थलोसँगै पुरातात्विक रुपमा समेत ऐतिहासिक भएकाले यहाँका अमूल्य वस्तुहरुको संरक्षणका लागि प्रयोगशाला सहयोगी हुने बताए ।
नेपालका लागि अमेरिकी दूतावासका उपप्रमुख ज्यासन मिक्सले प्रयोगशालाले प्राचिन कलाकृतिको अमूल्य सम्पदाहरुको संरक्षण, अभिलेखन गर्ने विश्वास दिलाए। समारोहमा बुद्ध फाउण्डेशनका कार्यकारी निर्देशक सुम्निमा उदासले नेपाललाई साँस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रुपमा स्थापित गर्ने उद्देश्यले अत्याधुनिक संरक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइन्।
नेपालस्थित अमेरिकी दूतावासले राजदूत साँस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत् सहयोग गरी अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरिएको हो। प्रयोगशालाले बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक वस्तुहरुको टुटेफुटेको जोड्ने, पुरातात्विक बस्तुहरुलाई जोगाउने काम गर्ने बताइएको छ ।
लुम्बिनी संग्रहालयमा लुम्बिनीमा उत्खनन गरिएका इसा पूर्वको छैटौं शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका पक्की माटोका प्रतिमा, ढुंगाका मूर्ति, सिक्का र अन्य अवशेषहरु राखिएको छ। प्रयोगशाला सुरु भएसँगै २ जना क्यूरेटर राखिने बताइएको छ।

