


काठमाडौं,३०बैशाख। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल विरोधी वर्ग भएको बताएका छन्।
सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको बताए।

देश आफैंले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने भन्दै नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन उनले आग्रह गरे।
उनले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षति नोक्सानीप्रति सरकार गम्भीर रहेको बताउँदै ०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए।
मन्त्री खड्काले इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गरे।
उनले उक्त २२ वटा टारलाई सिंचाईको व्यवस्था मिलाएपछि सम्पूर्णको जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गरे। उनले सिन्धुपाल्चोकको कारणले काठमाडौंवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकार समेत भएको धारणा राखे।

