


काठमाडौं,१जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा ३ अर्ब बढीको बिगो र कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै मोहन बस्नेतसहित पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

आयोगले मुद्दा दायर गरेसँगै नेपाली कांग्रेस सांसद समेत रहेका बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ। बस्नेत २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १७ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दायर भएमा स्वतः निलम्बनमा पर्ने व्यवस्था छ।
आयोगले तत्कालीन सञ्चारमन्त्री बस्नेत आरोपी सबै जनाविरुद्ध जनही तीन अर्ब २१ करोड, ८३ लाख, ७७ हजार १८२ बिगो मागदाबी गरेको छ।
आयोगले दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय नभइसकेको अवस्थामा तत्कालीन मन्त्रीले पदीय अधिकारको दूरपायोग गरी एकलौटी रुपमा प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी संस्थालाई हानीनोक्सानी पुर्याउने पृष्ठभूमि तयार गरेको, टेरामक्स खरिद कार्य पूर्वतयारी नगरेको, लागत अनुमान र खरिद गुरुयोजना तयार नगरेको लयायत आरोप लगाएको छ ।

