


परासी,२जेठ। पश्चिम नवलपरासीमा शुक्रवार अपरान्ह आएको हावाहुरीको क्रममा दुई जनाको मृत्यु भएको छ। तीन जना गम्भिर घाइते भएका छन्।
प्रहरीका अनुसार पानीसहित आएको हावाहुरीबाट जोगिन उनीहरु सुनवल नगरपालिका–७ स्थित प्रतीक्षालयमा बसेका थिए। हावाहुरीका कारण नजिकै रहेको रुख प्रतीक्षालयमा ढल्न पुगेको थियो।

कमजोर अवस्थामा रहेको प्रतीक्षालयको छत खस्न पुग्दा च्यापिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले बताए।
उनका अनुसार मृत्यु हुनेमा ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन्। गम्भीर घाइते हुनेमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वर खाम्चा मगर र २२ वर्षीय अनिल थापा रहेका छन्।
उनीहरु सबै सुनवल नगरपालिका–७ ज्यामिरेका हुन्। गम्भीर रुपमा घाइते तीनै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

