


काठमाडौं,४जेठ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल भएको बताएकी छिन्।
गत शुक्रबारदेखि जारी सगरमाथा संवादको समापन सत्रमा आज उनले भनिन्,’संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्ताराष्ट्रिय संगठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ।’
संवादका निष्कर्षको कार्यान्वयन र लक्षित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक पर्ने उल्लेख गर्दै उनलेले संवाद एउटा कार्यक्रम मात्र नभई विचारको संगम र साझा जिम्मेवारीको उत्सव भएको बताइन्।

संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्ताराष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिइन्। उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्ताराष्ट्रिय सम्मेलन,संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभा तथा यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप– ३० लगायत अन्ताराष्ट्रिय मञ्चमा उठाइने उनले बताइन्।

