


धादिङ,७ जेठ।नागढुङ्गा–नौबिसे सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ। सडक निर्माण कार्यका लागि उक्त अवधिभर दैनिक दिउँसो साढे ४ घण्टा उक्त सडकखण्ड बन्द हुने भएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौं र जिल्ला प्रशासन धादिङसँगको समन्वयमा जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडकखण्ड बन्द गरेर निर्माण कार्य गरिनेछ। यसअघि रातीको समयमा उक्त सडकखण्ड बन्द गरेर काम हुँदै आएको थियो।

‘निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थिय। प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो’, प्रमुख जिल्ला अधिकारी तिवारीले भने ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौंबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डौतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ।
सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ। बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने बताइएको छ।

